बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट शुक्रबार प्रस्तुत भएको छ । लुम्बिनी प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेट प्रस्तुत गरेका हुन् ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि कुल ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको छ । त्यसमध्ये १ करोड बजेट प्रदेश सञ्चित कोषबाट खर्च हुनेछ ।
सरकारले सार्वजनिक गरेको बजेट चालु आवको भन्दा २ अर्बले घटेको छ । बजेटमध्ये पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख, चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सरकारले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सञ्चालन गर्न १ अर्ब बजेट विनियोजन गरेको छ । सीप, पुँजी र प्रविधिको विकास गरी रोजगार प्रवर्द्धन गर्न सरकारले थप ४ करोड बजेट छुट्याएको छ ।