काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको नयाँ भवन निर्माणको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।
सोमबार सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनको निरीक्षण गर्दै प्रधानमन्त्री प्रचण्डले आउँदो हिउँदे अधिवेशन नयाँ भवनमा गर्ने लक्ष्य रहेको भन्दै भवन निर्माणको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
नयाँ संसद भवन देशको गौरव भएकाले युद्धस्तरमा काम गर्नका लागि कुनै सम्झौता नगर्न समेत उनले निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले देशको एकमात्र सार्वभौम संस्थाको आफ्नै भवन नहुनु नमिठो कुरा रहेकाले आफूले आफ्नै संसद भवन निर्माण गर्न पहल गरेको स्मरण गरे ।
उनले हतारमा डिपिआर बनाएको प्रश्न उठ्दा पनि १२ वटा भवनको काम सकिन लागेको देखिएको र समन्वयका आधारका काम भएको जानकारी पाउँदा खुसी लागेको जिकिर गरे ।
त्यस्तै शहरी विकास मन्त्री सीता गुरुङले बिभिन्न चुनौतिबीच पनि समयमा नै नयाँ भवन निर्माणको सम्पन्न गर्न आग्रह गरिन् । उनले सरकारले लिएको उद्देश्यलाई पुरा गर्नका लागि पनि समयमा नै निर्माण सम्पन्न गर्न अनुरोध गरिन् ।
१ सय ७३ रोपनी क्षेत्रफलमा फैलिने उक्त भवनमा संघीय संसद भवन, प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत ११ भवन हुनेछन् ।