काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । यही साउन २ गते सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राख्नेक्रम जारी रहेको छ ।
आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ । केन्द्रीय समिति बैठकमा विभिन्न १० वटा एजेन्डामा केन्द्रित रहेर सदस्यहरूले धारणा राखेका छन् ।
आज सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिनेछन्। बैठकमा बोल्ने सदस्यहरूले नेतृत्वको सुस्तताप्रति आलोचना गरेका छन् । कतिपयले महामन्त्रीद्वय थापा र शर्माको आलोचना गरेका छन् भने कतिपयले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति टिप्पणी गरेका छन् ।