काठमाडौं । उपत्यकामा डेंगु संक्रमितको संख्या आठ सय नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा चार सय ६३ जना, भक्तपुरमा एक सय ७२ र ललितपुरमा एक सय ८५ जना डेंगु संक्रमित भएका छन् ।
पछिल्लो एक महिनामा उपत्यकाभित्र संक्रमणदर बढेको सरकारी तथ्यांकले देखाएको छ । अघिल्लो महिना अगस्टमा काठमाडौंमा तीन सय ३३ जना संक्रमित भएका थिए भने भक्तपुरमा एक सय १७ जना र ललितपुरमा एक सय ३६ जना संक्रमित थिए । हाल चलिरहेको महिना सेप्टेम्बरमा संक्रमितको संख्या थप बढ्न सक्ने भन्दै सतर्क र डेंगु संक्रमणबाट सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखा प्रमुख अनुप बाँस्तोलाले मंसिरसम्म नै उपत्यकालगायत देशैभर डेंगु संक्रमण फैलने डर देखिएको बताए ।
उनले यसबारे पर्याप्त सावधानी अपनाउन आवश्यक रहेको बताए । उनका अनुसार अझ गत वर्षदेखि त जाडो महिना पुसमा समेत डेंगु संक्रमित देखिएको थियो ।फोहोर र सबैतिर पानी जम्ने गरेकाले पनि काठाडौंमा संक्रमण बढ्ने देखिएको हो । समुदाय र सरकारी निकाय थप जागरुक भए संक्रमण नियन्त्रण हुन सक्ने उनको भनाइ छ । गत वर्ष सबैभन्दा बढी काठमाडौंमा फैलिएको डेंगु यसपटक सुनसरीमा धेरै देखिएको छ । तर, काठमाडौंमा पनि पछिल्लो समय तीव्र बन्ने संकेत देखिएको छ ।
काठमाडौंका ठूला अस्पतालहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा सातजना, वीर अस्पतालमा तीनजना र त्रिवि शिक्षण अस्पतालमा ६ जना डेंगुका बिरामी उपचारका लागि भर्ना भएका छन् । अस्पतालमा आउने धेरैजसो बिरामी भर्ना नै गर्नुपर्ने खालका नहुने भएकाले घरमै पठाइने गरिन्छ । कतिपय त अस्पताल नै आउँदैनन् ।
वीर अस्पतालका मेडिसिन विभाग प्रमुख डा.सुरेन्द्रलाल श्रेष्ठले अहिले नै डेंगु संक्रमण उच्च बिन्दुमा नपुगे पनि बढ्न सक्ने जोखिम रहेको बताए । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। रुद्र मरासिनी पनि डेंगु संक्रमण उच्च बिन्दुमा पुग्ने देखिएकाले रोकथामका लागि सरकारी निकाय र नागरिक समाज समयमै जागरुक हुनुपर्ने बताउँछन् । उनले लामखुट्टेको वासस्थान खोज्ने र लार्भा नस्ट गर्नतर्फ ध्यान दिन आग्रह गरे ।
यस वर्ष डेंगु संक्रमणबाट हालसम्म १४ जनाको ज्यान गएको छ भने मृत्यु हुनेमा १२ जना उपत्यकाबाहिरका छन् । देशका ७५ वटै जिल्लामा संक्रमण फैलिएको छ ।