काठमाडौँ । अभिनेता शाहरुख खान र अभिनेत्री नयनतारा अभिनित फिल्म ‘जवान’ ले राम्रो सुरुवाती व्यवसाय गरेको छ । जवानले पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्मको यसअघिको रेकर्ड समेत तोडेको छ ।
भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ७५ करोड भारूको ओपनिङ गरेको छ।फिल्मले हिन्दी संस्करणमा मात्रै ६५ करोड भारू कमाएको हो। योसँगै फिल्मले सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ।
फिल्मको सफलता र फ्यानबाट मिलेको मायाको प्रतिक्रियामा अभिनेता शाहरुख खानले पनि फ्यानप्रति आभार व्यक्त गर्दै धन्यवादसमेत दिएका छन् । फिल्मका निर्देशक एटलीले पनि सफलताको श्रेय दर्शक र अभिनेता शाहरुखलाई दिएका छन् ।
मुम्बईमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘जवानको सफलताका श्रेय शाहरुख खान र फिल्मलाई माया गर्ने दर्शकहरूलाई धन्यवाद ।’ उनले हर कुनै व्यक्तिले शाहरुख खानलाई माया गर्ने समेत बताए ।
जवान गत ७ सेप्टेम्बर रिलिज भएको हो । रिलिजको दिनबाटै समर्थकले चलचित्र घर र बाहिर नाचेको, पटाका फोरेको र रंगहरु छरेको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । अहिले गरिरहेको आम्दानीबाट फिल्म एक मेगा ब्लकबस्टर साबित हुने अनुमान गर्न सकिन्छ ।
फिल्ममा शाहरुख खानको अलवा नयनतारा, विजय सेतुपति र रिद्धि डोगराको भूमिका छ । दीपिका पादुकोण पनि फिल्ममा अतिथि भूमिकामा देखिएकी छन् ।अन्तर्राष्ट्रिय स्तरमा फिल्मले हाल सम्म ३५० करोड नाघेको छ ।