काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (अहिलेको राष्ट्रिय निकुञ्ज)बाट विस्थापित भएका पीडितहरू भोक हडतालमा उत्रिएका छन् । उनीहरूले सोमबारबाट काठमाडौंको माइतीघर मण्डलामा भोक हडताल सुरु गरेका हुन् ।
उनीहरूले आरक्षबाट विस्थापित भएको २२ वर्ष बितिसक्दा पनि पुनर्स्थापनामा सरकारले बेवास्ता गरेको गुनासो गरेका छन् । तत्कालीन आरक्ष विस्तारका क्रममा २०५८ सालमा राज्यले सयौँ परिवार विस्थापित गरे पनि अझै उनीहरूको पुनर्स्थापना हुन सकेको छैन ।
आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्द र सचिव प्रेमदत्त भट्टसहित पीडितहरू पुनर्स्थापनाका लागि पाँच बुँदे मागसहित भोक हडतालमा बसेका छन् । पीडितहरूले प्रतिपरिवार १० कठ्ठा जग्गा उपलब्ध गराउनुपर्ने, २०५८ देखि अहिलेसम्म २२ वर्षको क्षतिपूर्ति दिनुपर्ने, घरगोठलगायत खोसिएको सम्पत्तिको मुआब्जा दिनुपर्ने, पीडित परिवारका लागि शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानीको ग्यारेन्टी गर्नुपर्ने, पीडित परिवारका बालबालिकालाई राज्यको मूलधारमा रोजगारी सुनिश्चित हुनुपर्ने माग गरेका छन् ।
भोक हडतालमा बसेका आरक्ष पीडित संघर्ष समितिका सचिव भट्टले समस्या समाधान गर्ने भनेर प्रधानमन्त्रीदेखि कञ्चनपुरका जनप्रतिनिधिले आश्वासनमात्रै दिएको र पुनर्स्थापनाका लागि कुनै कदम नचालेकाले बाध्य भएर सडकमा आएको बताए ।
पीडितको पुनर्स्थापनाका लागि राज्यले ३२ वटा आयोग बनाए पनि समस्या समाधान भएको छैन ।