कञ्चनपुर । कार्यालय समयभित्र उपस्थित नहुने कर्मचारीलाई कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले कार्यालय प्रवेशमा रोक लगाएका छन् ।
सोमबार बिहान १० बजेसम्म कार्यालय पुगेका कर्मचारीहरूलाई धन्यवाद दिँदै अध्यक्ष रानाले १० बजे भन्दा ढिला कार्यालय आउने कर्मचारीहरूलाई प्रवेशमै रोक लगाएका हुन् । बिहान १० बजेसम्म ४ जना माथिल्लो तहका कर्मचारी र ९ जना कार्यालय सहयोगी मात्रै उपस्थित थिए ।
ढिला आउने २३ जना कर्मचारीहरूलाई भने कार्यालय प्रवेशमा रोक लगाइएको हो । कर्मचारीका विषयमा सेवाग्राहीहरूको बारम्बार गुनासो आएको र प्रशासनले कर्मचारीलाई व्यवस्थापन गर्न नसक्दा कार्यालयको काम नराम्ररी प्रभावित भएपछि यस्तो कदम चाल्नु परेको बेलडाँडी गाउँपालिकाका अध्यक्ष रानाले बताए ।
गाउँपालिका कार्यालयमा ढिलो आउने कर्मचारीहरूलाई पालिका अध्यक्षले कार्यालय प्रवेशमा रोक लगाउँदा गाउँपालिका कार्यालयको प्रायः सबै काम प्रभावित भएको छ । काम विशेषले आएका सेवाग्राहीहरू निराश भएर फर्किएका थिए ।
थोरै समय ढिला भएकोले कार्यालय प्रवेशमै रोक लगाउनु गलत भएको कार्यालय प्रवेश गर्न नपाएका कर्मचारीहरूको प्रतिक्रिया थियो । तर सर्वसाधारण नागरिकहरू भने अटेरी कर्मचारीहरूलाई सुधार्न गाउँपालिका अध्यक्षले चालेको कदम ठिक भएको बताएका छन् ।