धनगढी । अनुमति नलिई सञ्चालनमा रहेका धनगढीका दुई अस्पताल बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीसहितको टोलीले मङ्गलवार अनुगमन गर्दा ती अस्पतालले अनुमति नलिई सञ्चालनमा रहेको पाइएकोले अस्पताल सञ्चालन अनुमति नलिए सम्म बन्द गरिएको हो ।
अस्पताल सञ्चालन अनुमति नलिनेमा धनगढी उप–महानगरपालिका वडा नम्बर ३ स्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेष्लिटी हस्पिटल प्रा.लि. र धनगढी उप–महानगरपालिका वडा नम्बर ५ स्थित धनगढी संजिवनी हस्पिटल प्रा.लि. रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।
कानूनअनुसार सेवा सञ्चालन गर्न १५ शय्याको अस्पतालका लागि स्थानीय तह, २५ शय्याको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य निर्देशनालय, एक सय शय्याको अस्पतालका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र त्योभन्दा माथिको अस्पताल सञ्चालनको अनुमति सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गर्ने व्यवस्था छ। तर स्वस्तिक र संजिवनीले अनुमति नलिई सेवा सञ्चालन गरिरहेका थिए ।
अब ती अस्पतालले अनुमति नलिएसम्म आफ्नो सेवा लिन नपाउने भएका छन् । मङ्गलवार जिल्ला प्रशासन कार्यालय धनगढी कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक,स्वास्थ्य निर्देशनालय दिपायल ( सम्पर्क कार्यालय धनगढी),वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी,स्वास्थ्य कार्यालय कैलाली र धनगढी उप–महानगरपालिका कैलालीका कर्मचारी समिलीत टोलीले धनगढीका निजी अस्पतालमा संयुक्त अनुगमन गरेको थियो ।