धनगढी । धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेष्लिटी हस्पिटल प्रा.लि.ले सञ्चालनको अनुमति पाएको छ। धनगढी उपमहानगरपालिकाले बुधबार अस्पताल सञ्चालनको अनुमति प्रदान गरेको हो। मङ्गलबार इजाजत बिना अस्पताल सञ्चालनमा रहेको भन्दै संयुक्त बजार अनुगमन समितिले अस्पताल बन्द गर्न निर्देशन दिएको थियो।
स्वस्तिक अस्पतालसँगै धनगढी स्थित राष्ट्र बैंक नजिक रहेको संजिवनी अस्पताललाई पनि अनुमति बिना नचलाउन निर्देशन दिइएको थियो। उपमहानगरले बुधबार स्वस्तिकलाई मात्रै सञ्चालनको अनुमति दिने निर्णय गरेको हो। संजिवनीको हकमा भने कुनै निर्णय भएको छैन।
उपमहानगरले १५ शय्या क्षमताको अस्पताल सञ्चालन गर्न ’धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०७७’ र ’धनगढी उपमहानगरपालिका स्वास्थ्य संस्था दर्ता, नवीकरण, स्तरोन्नति तथा सेवा थप सम्बन्धि कार्यविधि, २०७७’ को दफा ५ को उपदफा (१) बमोजिम उपमहानगरपालिकाले तोकेका पक्षहरूमा सुधार गर्ने गरी एक वर्षका लागि १५ शय्या क्षमताको अस्पताल सञ्चालन गर्न इजाजत दिएको जनाएको छ।
अनुमति बिनै सञ्चालित भएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले बन्द गर्न निर्देशन दिएको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालिलाई उपमहानगरपालिकाले सञ्चालन अनुमति दिएको हो। मंगलबार प्रशासनले अनुमति नभएको भन्दै बुधबारदेखि बन्द गराउन भन्दै प्रहरीलाई पत्र पठाएको थियो। बुधबार विहानदेखि सेवा बन्द गरेको स्वस्तिकलाई उपमहानगरपालिकाले एक वर्षका लागि १५ सैय्या क्षमताको अस्पताल सञ्चालन अनुमति प्रदान गरेको छ।