वाशिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र शान्ति सञ्चालन मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव जिन पिएरेरे लाक्रोक्सबीच भेटघाट भएको छ ।
सोमवार भएको भेटमा उनीहरूबीच शान्ति स्थापनाका लागि राष्ट्रसङ्घ मातहत रहेर सेवा गर्ने नेपाली सुरक्षाकर्मीहरूको तालिम, सुरक्षालगायतका विषयमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ ।
यसैगरी सोमवार परराष्ट्रमन्त्री साउदले फिनल्याण्डका वैदेशिक, व्यापार तथा विकास मन्त्री भिल्ले ताभियोसँग भेट गरेका छन् । उक्त भेटघाटमा पारस्परिक चासो, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको थियो ।
मन्त्री साउदले सोमवार नै ‘साइडलाइन’ बैठकमा सर्वियाका प्रथम उपप्रधानमन्त्री डा. इभिका डासिसबीच भेटवार्ता गरे । भेटका अवसरमा नेपाल र सर्वियाबीच द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ ।यसैगरी परराष्ट्रमन्त्री साउदले रोमानियाकी परराष्ट्रमन्त्री लुमिनिटा टयुडोरा ओडवेस्क्युसँग पनि भेट गरेका थिए ।