काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकले गणतन्त्रको अर्थ बुझ्न र अनुभूति गर्न बाँकी नै रहेको बताएका छन् ।संविधान दिवसको अवसरमा बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको सर्वोत्तम उपलब्धी गणतन्त्र प्राप्त गरे पनि त्यसलाई अनुभूत गर्न बाँकी नै रहेको बताएका हुन् ।
‘गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन । यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो । यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँंकी छ’, उनले भनेका छन्।
राजनीतिक व्यवस्था परिवर्तन भए पनि देश, समाज र जनसामान्यको अवस्था परिवर्तन हुन नसकेको भन्दै राष्ट्रपति पौडेलले राज्य पुनर्संरचनामार्फत तल्लो तहका जनताको पहुँचमा राज्यसत्ता पुगे पनि राज्यको चरित्रको भने पुनर्संरचना हुन बाँकी रहेको बताए ।
जनआन्दोलनका उपलब्धिहरू माथि फेरि कहीं, कतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्ने राष्ट्रपति पौडेलले बताए । ‘संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा पनि हामी चनाखो हुनैपर्छ । यस्तो अवस्था किन र कसरी आउन सक्छ रु यो प्रश्नमा हामी सबै जिम्मेवार हुनु आवश्यक ठान्दछु’ राष्ट्रपति पौडेलले भनेका छन् ।