कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा रहेको एक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी माथि हातपात भएको छ । यहाँको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेव नरेन्द्र प्रसाद गैरेमाथि मङ्गलवार राति एक जनाको उपचारका क्रममा स्थानीयले हातपात गरेका हुन् ।
मङ्गलवार राति साइकलबाट लडेर आँखा र टाउकोमा चोट लागेर घाइते भई उपचारका लागि स्वास्थ्य केन्द्रमा पुगेका बेलौरीका बाबुराम चौधरीको उपचारको क्रममा गैरेमाथि चौधरीका आफन्तले हातपात गरेका हुन् । उपचार सामग्री अभावले उपचारमा ढिलाइ हुँदा घाइतेका आफन्त बेलौरी नगरपालिका गोकुलपुरका राम बहादुर खड्काले गैरेमाथि गालीगलौज गर्दै हातपात गरेको प्रहरीले जनाएको छ ।
बेलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहोराका अनुसार चार दिनदेखि लगातार सार्वजनिक बिदा हुँदा उपचार सामग्रीको अभाव भएको थियो । घाइतेको घाउमा टाँका लगाउनुपर्ने बेला धागो सकिएको पनि उनले बताए ।
बोहोराका अनुसार घाइते चौधरी र स्वास्थ्यकर्मी गैरे परिचित नै हुन् । त्यसैले पनि उनले स्वास्थ्य सामग्रीको अभावका बेला समेत आफैँ पैसा दिएर उपचार गर्न खोजिरहेका थिए । खड्काले एकाएक घाँटीमा समातेको उनले बताए ।
उनले स्वास्थ्यकर्मीमाथि बिनाकारण हुने हातपात तथा दुर्व्यवहारले उनीहरूको मनोबल गिर्ने बताए ।बोहोराका अनुसार पीडित स्वास्थ्यकर्मीले खड्काविरुद्ध इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले हातपात गर्ने खड्कालाई नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिए । यता स्वास्थ्य केन्द्रले आफ्ना कर्मचारी कुटिएको विषयमा प्रशासन गम्भीर नदेखिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सो विषयमा एक विज्ञप्ति निकाल्दै कुटपिटमा सग्लन व्यक्तिलाई पक्राउ गरि कारबाही नगरे असोज ४ गतेबाट आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा ठप्प गर्ने चेतावनी दिएको छ ।
पछिल्लो समय स्वास्थ्यकर्मीमाथि हातपात हुने क्रम बढ्न थालेको छ । करिब एक हप्ता अघि मात्रै हेटौँडा–१ स्थित सन्चो हस्पिटल प्रालिका चिकित्सकहरूलाई एक समूहले निर्घात कुटपिट गरेको छ । सन्चो अस्पतालमा बिरामी हेरेर फर्किने क्रममा हेटौँडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डा. प्रशान्त बिडारी र सन्चो अस्पतालमा कार्यरत डा. विकास थापामाथि केही युवाहरूले हातपात गरेका थिए ।
त्यसपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। आइतबार देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर चिकित्सकहरू आन्दोलनमा समेत उत्रिएका थिए । आइतबारको आन्दोलनपछि सरकारले वार्ता गरेको थियो । वार्तामा आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएको छ। तर यो घटना सेलाउन नपाउँदै कञ्चनपुरमा फेरी अर्को घटना घटेको हो ।