काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था अपरिहार्य भएको बताएका छन् ।पछिल्लो समय संघीय गणतन्त्रको नाममा कायम व्यवस्थाको अन्त्य हुनुपर्ने भन्दै थापा आक्रामक रुपमा आन्दोलनको पक्षमा उभिएका छन् ।
महाधिवेशन पछि राप्रपा नेपाललाई पुनर्जागृत गर्दै अघि बढेका थापाले पछिल्लो समय राजसंस्था पनि पार्टीको कार्यनीति हुने निर्णय केन्द्रीय समितिबाट गराएका छन् ।
महाधिवेशनको समयमा निर्मल निवासबाट खेलिएको असहयोगी भूमिकाबाट बिच्किएका थापाले अब त्यो गुनासो र असन्तुष्टिलाई मन मै राख्ने र बिर्सने प्रयास गरेका छन् ।
आज बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो भावना व्यक्त गर्दै थापाले राजाप्रतिको गुनासो आफ्नो ठाउँमा रहने भन्दै त्यसलाई गौण रुपमा लिने अभिव्यक्ति दिएका छन् ।थापाले सबै गुनासो, चित्त दुखाइलाई तपसिलमा राखेर आन्दोलनमा जाने र हालको व्यवस्थाको विकल्प खोज्ने समेत बताएका छन् । सांगठनिक रुपमा कमजोर रहेको राप्रपा नेपालको हिजोको देशव्यापी प्रदर्शनबाट थापा हौसिएका छन् ।