काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) मा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार र शनिबार भएको क्यानको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको हो । सो संस्थाको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध चयन भएका छन् । अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो । क्यानको अध्यक्षमा चन्द पुनः दोहोरिएका हुन् ।
संघको उपाध्यक्षमा हालका कोषाध्यक्ष रोशन सिंह निर्विरोध चयन भएका छन् । सचिवमा पारस खड्का निर्वाचित भएका छन् । उनले ४८ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्लले ३७ मत पाए । पारस राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान हुन् । उनले २ वर्षअघि सन्यास लिएका थिए ।
उनी काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य हुँदै बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसलगत्तै उनी नेपाल क्रिकेट संघको सचिवमा निर्वाचित भएका हुन् ।
यसैगरी कोषाध्यक्ष पदमा पदम खड्का निर्विरोध भएका छन् । सो पदमा उनको मात्रै उम्मेदवारी परेको थियो । त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध निर्वाचित भएकी छन् ।