काठमाडौँ । यस वर्षको दसैं र तिहारमा पनि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले बताए ।
अघिल्ला दुई वर्ष जस्तै यस वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा दिन लागेको छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एकरएक बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी छ ।
राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रमसरह मानेर वितरण गर्दै आएको छ । राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले यही असोज अन्तिम साता ९घटस्थापना आसपास० देखि सूचना नै जारी गरेर सर्वसाधारणलाई नयाँ नोट सटही गरिने शाक्यले बताए ।
विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने भन्दै यस वर्षदेखि राष्ट्र बैंकले नयाँ नोट सटही गर्न आउनेलाई क्यूआर कोडअन्तर्गत भुक्तानी गर्न आग्रह गर्ने भएको छ । यसैबिच नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अंकित मेडालियन सिक्काको बिक्री वितरण सुरु गरेको छ ।