डडेलधुरा । डडेलधुरा मेडिकल कलेजले ब्यचलर इन मेडिकल ल्याब टेक्नोलोजीको कक्षा सञ्चालनको अनुमति पाइएको छ । कलेजलाई चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको हो ।
अब अनुमति पाएसंगै आउँदो कार्तिक १८ गते प्रवेश परीक्षा लिने र माघदेखि कक्षा सञ्चालनको तयारी भइरहेको डडेलधुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकरण ओझाले बताए । त्यसका लागि चिकित्सा शिक्षा आयोगले १० जनाको कोटा पनि निर्धारण गरेको उनले बताए ।
सरकारले डडेलधुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढेकोमा चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको हो ।
आयोगले यसअघि डडेलधुरा मेडिकल कलेजमा अध्यापन अनुमति प्रदान गर्नका लागि अनुगमन गरेको थियो । सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीका अनुसार डडेलधुरा मेडिकल कलेजमार्फत पाँच वटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति माग गरिएको थियो ।
‘ब्यचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजियोथेरापी र बिएस्सी नर्सिङका कक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरेपनि अहिले एउटा मात्रै अनुमती पाएको डडेलधुरा मेडिकल कलेजका डिन हेमनाथ जोशीले बताए ।
मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेलधुराको अमरगढी नगरपालिका–८ स्थित कीर्तिपुर नजिक ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ । हाल त्यहाँ मेडिकल कलेज भवन निर्माणको बोर्ड लगाइएको छ । यस्तै डडेलधुरा अस्पतालका नाममा १५३ रोपनी जमिन छ भने अस्पतालसँगै जोडिएको १९१ रोपनी जमिन कलेज सञ्चालन गर्न भोगाधिकार प्राप्त भएको छ ।