हेटौंडा । बिबादका बिचमा दुई दिनदेखि स्थगित भएको बागमती प्रदेश सभा बैठक आज बस्दैछ । प्रदेश संसद भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाइएको छ ।
प्रतिपक्षी नेकपा एमालेले बिरोध जनाएपछि सोमवार देखि बैठक सुचारू हुन सकेको छ । सोमबारको बैठकमा एमालेले अबरोध गरेपछि सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए । पछि बस्ने भनिए पनि पुनः बस्न नसके पछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो । तर, मंगलबार पनि बैठक भने बस्दै नबसी स्थगित गरिए पछि बुधवार ४ बजेका लागिसम्म स्थगित गरिएको थियो।
प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल एमालेले सोमबारको बैठकमा अबरोध गरेको थियो । त्यसपछि बागमती प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर मंगलबार २ बजेसम्मका लागि संसद स्थगित गरिएको जनाएको थियो तर सहमति हुन नसक्दा मगलबार पनि बैठक सुचारू नै नभइ स्थगित गरिएको हो ।
सो बिधेयक गत वैशाख १२ गते संसदबाट पारित भइ प्रदेश प्रमुख कार्यालयमा गएको थियो तर प्रदेश प्रमुख यादवचन्द्र शर्माले भने आफु समक्ष प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक फिर्ता गरिदिएका थिए । गत जेठ ७ गते पुनः संसदमा फिर्ता भएको उक्त बिधेयकमा भएका त्रुटिहरू सच्याउन सुझाव सहित पुनः छलफलका लागि प्रदेश प्रमुख शर्माले संसदमा फिर्ता पठाएका हुन् ।
तर, सोही फिर्ता भएको चिठ्ठा विधेयक सरकारले एकाएक सोमबारको बैठकमा पेश गर्न खोजे पछि हिजोको बैठकमा घम्साघम्सी भएको हो । एमालेले प्रदेश प्रमुखको सुझाव समेटेर मात्रै विधेयक संसदमा पेश गर्न भने पनि प्रदेश सरकारले जस्ताको तस्तै पुनः ल्याए पछि संसदमा घम्साघम्सी भएको हो । अब प्रदेशसभा बैठक बुधबार ४ बजे बस्ने गरी बोलाइएको छ ।