काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक दिउँसो १ बजेबाट सुरु हुनेछन् ।राष्ट्रियसभाको बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे पनि जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८०’ सभामा पेस गर्ने कार्यसूची रहेको छ । यस्तै प्रतिनिधिसभाको बैठकमा ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गर्ने प्रस्तावमा सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची रहेको छ । सभामुख देवराज घिमिरेले पूर्व प्रतिनिधिसभा सदस्य खेमराज भट्ट मायालुको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।