धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आइतबारदेखि धनगढीमा सुरु भएको छ । सौँराइ पार्टी प्यालेसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका हुन् ।
अधिवेशनमा प्रदेशका ९ जिल्लाका ६ सय ७५ प्रतिनिधि सहभागी छन् । अधिवेशनले पदाधिकारीसहित १ सय ५५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ । उद्घाटनपछि हुने बन्द सत्रमा राजनीतिक तथा सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ ।
अध्यक्ष पदमा अहिलेसम्म कमल तिमिल्सेना, कृष्णप्रसाद जैसी र बच्चनबहादुर सिंहको नाम चर्चामा छ । सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भइरहेको एमाले केन्द्रीय सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जनाए ।