नेपालगञ्ज । नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू हटाइएको छ । जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।
उनले शान्ति सुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यू हटाइएको उल्लेख गरे । अघिल्लो मङ्गलबार नेपालगञ्जमा तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो ।
अवस्था सामान्य बन्दै गएपछि केही दिनयता दिउँसोको समयमा निषेधाज्ञा र राति कर्फ्यू लाग्दै आएको थियो । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बन्ने देखिएपछि असोज १६ गते मङ्गलबार दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यू लगाइएको थियो ।यही असोज १८ गतेदेखि दिउँसोको कर्फ्यू हटाइएको थियो भने रातिको समयमा कर्फ्यू कायमै राखिएको थियो ।