कामठाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
‘अध्यक्षज्यू आफ्नै कामले जानुभएको थियो । तर त्यहाँ पुगेपछि कोशी सरकारको विषयमा कुरा पनि कुरा भयो’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यूले अब के गर्ने भनेर अध्यक्षज्यूलाई सोध्नुभएको थियो । सहयोग गर्न आग्रह गर्नुभयो।’
प्रवक्ता श्रेष्ठका अनुसार राप्रपाले कोशीमा सरकार गठनका विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार अध्यक्ष लिङ्देनलाई दिएको छ ।कोशीमा हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नयाँ सरकार बन्ने तयारी भइरहेको छ ।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका लागि आह्वान गरेका छन् ।