काठमाडौँ । नेकपा (एमाले) मधेस प्रदेश अधिवेशनअन्तर्गत आजबाट नेतृत्व चयन प्रक्रिया सुरू हुने छ।बुधबार उद्घाटन सत्रपछि राति ८ बजेबाट बन्दसत्र सुरू भएको थियो।
साढे १० बजेसम्म चलेको बन्दसत्रले राजनीतिक, सांगठनिक प्रतिवेदन सुझावसहित पारित गरेको केन्द्रीय सदस्य अरबिन्द सिंहले जानकारी दिए। मधेस इन्चार्ज योगेश भट्टराईको अध्यक्षतामा अध्यक्ष मण्डल गठन भएको छ। नेतृत्व चयनको प्रक्रिया आजबाट सुरू हुने सिंहले जानकारी दिए।
उनका अनुसार पार्टीले प्राप्त गरेको समानुपातिक मत र पार्टी सदस्य संख्यालाई आधार मानेर जिल्लाहरूलाई सदस्य संख्या निर्धारण गरिएको छ।दलित, मुस्लिम, युवा, आदिवासी, जनजाति र महिलाको समावेशी प्रतिनिधित्व हुने गरी सदस्य निर्वाचित गर्न भनिएको उनले बताए।
अधिवेशनमा १ हजार २७ प्रतिनिधि रहेका छन्। अधिवेशनले २ सय ३५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ। पहिलो अधिवेशन भएकाले अध्यक्षमा ४ जना बढी नेताहरूले आकांक्षा राखेका छन्।
सिराहा जिल्ला अध्यक्ष रहेका चन्देश्वर मण्डल, धनुषाका लक्ष्मीनारायण यादव, पर्साका विचारी यादव र सर्लाहीका राजनारायण साह अध्यक्ष बन्ने दौडमा छन्। चन्देश्वर मण्डललाई पोलिट्ब्युरो सदस्य लीलानाथ श्रेष्ठको समर्थन रहेको एक प्रतिनिधिले बताए। कोशी इन्चार्ज तथा पार्टी सचिव रघुवीर महासेठले आफ्नो समर्थनमा उम्मेदवार अघि सार्ने तयारी गरेका छन्।
उता सुदूरपश्चिम प्रदेशमा सहमतिमै नेतृत्व चयनको प्रयासमा रहेका एमाले नेताहरूबीच उपसचिव पदमा सहमति नजुट्दा निर्वाचन प्रक्रिया थप लम्बिएको छ ।उपाध्यक्षमा मनोनयन दर्ता गरेका ५ जना नेतालाई उम्मेदवारी फिर्ता गर्न लगाएर कालीबहादुर शाही सर्वसम्मत चुनिदा उपसचिवमा सहमति भएको छैन ।