विराटनगर । मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार कोशी प्रदेशसभा बैठक बोलाइएको छ ।
२० असोजमा तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाएको बैठकमा उनले राजीनामा घोषणा गरेका थिए । त्यसपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक अर्को मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि फेरि बोलाइएको हो ।
सोमबार प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बुधबार विहान ११ बजेका लागि बैठक बोलाएको जानकारी दिएको छ ।सरकारको आग्रहमा प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए ।
नेकपा एमालेको समर्थनमा कांग्रेसभित्र विद्रोह गर्दै डा। शेखर कोइराला समूहका नेता केदार कार्की शनिबार प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । आइतबार पदभार ग्रहण गरेका कार्कीले कांग्रेस र एमालेका एक/एक जनालाई मन्त्री बनाएका छन् ।
कांग्रेस सांसद भूपेन्द्र राईले मुख्यमन्त्रीले विश्वासको मत लिने विषयमा दलमा कुनै जानकारी नभएको बताए । कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाबीच सत्ता गठबन्धनलाई अझै बलियो बनाउने सहमति भएको थियो ।
तर आइतबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री कार्कीले एमालेका नेतालाई पनि मन्त्रिपरिषदमा सहभागी गराएपछि गठबन्धन दलभित्र असन्तुष्टि छ ।सपथ ग्रहणपछि सहमतिको सरकार बनाउने बताएका मुख्यमन्त्री कार्कीले गठबन्धन घटक दलसँग छलफल गरेका छैनन् ।