काठमाडौँ । आजदेखि गैरआवासीय नेपाली (एनआरएनए)लाई नागरिकता दिइने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज उनीहरूलाई गैरआवासीय नेपाली नागरिकता वितरण गर्ने कार्यको शुभारम्भ गर्दैछन् ।
उक्त शुभारम्भ कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ८ बजे शुरू हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
‘सोमवार साँझको खराब मौसमका कारण धनगढीबाट आउने जहाज उड्न नसकेकाले प्रधानमन्त्री आज बिहानमात्र काठमाडौं आउँदै हुनुहुन्छ । आएलगत्तै कार्यक्रम शुरू हुनेछ,’ उनले भने । पहिलो गैरआवासीय नेपाली नागरिकता एनआरएनएका वर्तमान अध्यक्ष कुल आचार्यले पाउने भएका छन् । आचार्यले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै खुसी व्यक्त गरेका छन् ।