काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले निकै ठूलो संघर्ष र मेहेनतपछि गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्दै उनले यो निकै ठूलो उपलब्धी भएको बताए ।
गैरआवासीय नेपालीसँग सम्बन्धित थुप्रै सवाललाई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरिएको उल्लेख गर्दै उनले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपैयाँबाट घटाएर दुई करोड कायम गरिएको जानकारीसमेत दिए।
संसारभरि रहेका नेपाली नेपालका गैरआवासीय दूत भएको उल्लेख गर्दै उनले नेपालले गैरआवासीय नेपालीबाट धेरै अपेक्षा गरेको बताए । सरकारले संघको स्थापनाकालदेखि नै सहकार्य गर्दै आएको जनाउँदै उनले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा गैरआवासीय नेपाली लक्षित विभिन्न कार्यक्रम घोषणा गरिएको बताए ।
संघका कार्यकारी अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेसँगै ‘एकपटकको नेपाली, सधैंको नेपाली’ भन्ने अभियान सार्थक भएको बताए ।अध्यक्ष कुल आचार्यले मुलुकको विकासमा ‘डास्पोरा’को महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मुलुक बाहिर रहेका नेपालीलाई नागरिकताले मातृभूमिसँग जोडेको बताए ।
संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपाली नागरिकता कागजको टुक्रोमात्र नभई गैरआवासीय नेपालीको मुटुको अंश भएको बताए । गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने कानुनी प्रबन्ध गरेकामा सरकार र सम्पूर्ण राजनीतिक दललाई धन्यवाद दिँदै उनले नेपाललाई समृद्ध बनाउन गैआवासीय नेपाली लागि रहेन विश्वास दिलाए ।