काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया फाइनल छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।
सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १६।३ ओभरमा २ विकेट गुमाएर भेट्टायो । नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले आक्रामक पारी खेले । ४८ बलको सामना गरेका उनले ८ चौका र २ छक्काको सहयोगमा ७४ रन बनाए ।
टी–२० अन्तर्राष्ट्रियमा कुशलको यो सातौँ अर्धशतक हो । यस्तै, कप्तान रोहितकुमार पौडेलले २४ बलमा २ छक्का र २ चौकासहित अविजित ३५ रन बनाए । आसिफ शेख २७ रनमा आउट हुँदा कुशल मल्ल ६ रनमा अविजित रहे ।सिंगापुरका लागि अक्षय पुरी र अनन्त कृष्णले एकरएक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनायो ।
उसका लागि रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए । यस्तै, आर्यवीर चौधरीले ३७ र मनप्रीत सिंहले २४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।नेपालका लागि अविनाश बोहराले ४ ओभरमा एक मेडन राख्दै ४३ रन दिएर सर्वाधिक ३ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १८ रन दिएर २ विकेट लिए । यस्तै, गुलशन झाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट नै हात पारे ।
करण केसीले ४ ओभरमा ३६ रन दिएर २ विकेट नै लिए । ४ ओभरमा २१ रन मात्र दिएका सोमपाल कामी भने विकेटविहीन रहे । नेपालले प्रतियोगितामा दोस्रो खेल मंगलबार मलेसियाविरुद्ध खेल्नेछ ।नेपालले समूह चरणको अन्तिम खेलमा बिहीबार ओमानको सामना गर्ने तालिका छ । समूहको शीर्ष दुईमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनल जित्दै फाइनलको यात्रा गर्ने दुई टिमले आउँदो वर्षको टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।