बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको बताएका छन् । बिहीबार बुटवलमा आम्दा स्वास्थ्यविज्ञान प्रतिष्ठान (नर्सिङ कलेज) को उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘‘वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील छ । मेरो नेतृत्वमा गठन भएको सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८०० शय्या निःशुल्क उपलब्ध गराइएको छ ।’’
यसैगरी, उनले पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको पनि बताए ।
‘‘सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल शय्याको १० प्रतिशत बिपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ । यस्ता धेरै काम अगाडि बढेका छन्, जसले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षा र सरल एवम् सहज सेवा प्रवाहका निम्ति आधारभूत अर्थ राख्दछन् ।’’ उनले भने ।
यस्तै उनले सरकारले छिट्टै बैंक ब्याजदर १० प्रतिशत भन्दा माथि नहुने घोषणा गर्ने बताएका हुन् ।‘बैंकको ब्याज दर सकभर एक अंकमा झार्ने सरकारको तयारी छ, नसके १० प्रतिशत भन्दा माथि जान्न दिन्नौं’, प्रधानमन्त्री प्रचण्डले भने, ‘उद्योग व्यवसाय क्षेत्र चलायमान बनाउने विषय सरकारको प्राथमिकतामा रहेको छ, तिहारपछि विद्युत व्यापारमा पनि ठूलो घोषणा गर्दैछौं त्यसैले निराश नहुन म सबैमा अपील गर्छु ।’