काठमाडौँ । सर्वोच्च अदालतले बाँकेका रिगल ढकाललाई आममाफी दिने निर्णय बदर गरेको छ। सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले आममाफीको निर्णय बदर गर्ने आदेश दिएको हो।
बिहीबार फैसला सुनाउँदै सर्वोच्चले रिगललाई तत्काल पक्राउ गर्न पनि आदेश दिएको छ। सरकारले संविधान दिवसको अवसरमा रिगललाई आममाफी दिएको थियो।
नेपालगन्ज उपमहानगरपालिका-८ का २९ वर्षीय चेतन मानन्धरमाथि २०७२ असार २८ मा धम्बोजी चोकमा रिगलको निर्देशनमा दिनदहाडै खुँडा प्रहार गरिएको थियो। त्यसपछि रिगल एकाएक फरार भएका थिए। घटनाको दुई महीनापछि भदौमा उनले अदालतमा आत्मसमर्पण गरेका थिए।
पुर्पक्षका लागि जेल पुगेका रिगललाई जिल्ला अदालत, बाँकेले २०७६ वैशाखमा मानन्धरको हत्यामा दोषी ठहर गर्दै सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो। रिगल सहित हत्यामा संलग्न अन्य १२ जनालाई समेत अदालतले दोषी ठहर गरेको थियो। झन्डै ५० प्रतिशत सजाय भुक्तानी गरेका रिगलले संविधान दिवसका अवसरमा आममाफी पाएका थिए।
त्यस विरुद्ध मानन्धरकी पत्नी भारती शेर्पाले असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले आज फैसला सुनाएको हो। रिगललाई आममाफी दिने सरकारको निर्णय विरोध हुँदै आएको थियो। सर्वोच्चमा रिट दिएकी भारती पनि माइतीघर मण्डलमा धर्ना दिँदै आएकी थिइन्।