काठमाडौँ । बागमती प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । गएराती कर्णाली प्रदेश अन्तरगत जाजरकोट र रुकुम पश्चिम गएको भूकम्पबाट पीडितहरु लागि राहात, उद्वार, र पुन निर्माणको लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख कर्णाली सरकारमार्फत वितरण गर्ने भएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आपतकालिन अवस्थामा कार्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न सो रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरि केही दिनमा नै उक्त रकम कर्णाली सरकारलाई हस्तान्तरण गरिने छ।
यसैबिच जाजरकोटको रामीडाँडाँ आसपासलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा प्रभावितहरूको उपचार र उद्धारका लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली पठाएको छ ।
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासँग सहयोगको आवश्यकताको विषयमा छलफल गरेका थिए ।
कर्णालीका मुख्यमन्त्री शर्माले तत्काल स्वास्थ्यकर्मीको आवश्यकता बढी रहेको र सहयोगका लागि आग्रह गरेपछि लुम्बिनीका मुख्यमन्त्री चौधरीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेडेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी र औषधीसहितको टोली जाजरकोट र रुकुमका लागि पठाएका हुन् ।
टोलीमा अधिकांश सरकारी अस्पतालहरूका स्वास्थ्यकर्मी र केही निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी पनि रहेका छन् । औषधिसहित खटिएको टोली दाङबाट जाजरकोटका लागि प्रस्थान गरिसकेको मुख्यमन्त्री चौधरीले बताए ।