काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने ठोकुवा गरेका छन् ।
राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवार र मतदाताबीच शनिबार काठमाडौंको गोकर्णमा भएको अन्तर्क्रियामा पुनले गठबन्धन कसैले चाहेर तलमाथि हुने अवस्था नरहेको बताएका हुन् । संविधानको रक्षा र कार्यान्वयनका लागि बनेको गठबन्धन मुलुकको अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।
गठबन्धनमा लामो समय मुलुकको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि संघर्ष, त्याग र बलिदानको पृष्ठभूमिबाट आएका दलहरू रहेको उनले बताए । १२ बुँदे सहमतिदेखि संविधान निर्माणमा सहकार्य गरेका प्रमुख शक्तिहरूको गठबन्धन भएकाले यसलाई आजको यथार्थतामा बुझ्न जरुरी रहेको उनले बताए ।
‘हाम्रो यो गठबन्धन चुनावी जितहारका लागि वा नेताहरूको स्वार्थका लागि नभई निश्चित राजनीतिक उद्धेश्यका लागि बनेको हो’, पुनले भने, ‘शान्ति प्रक्रियाका केही कामहरु बाँकी छन् । संविधान कार्यान्वयनमा विभिन्न खालका अवरोधहरु खडा गरिए । ती अवरोधहरु पन्छाउँदै संविधानका व्यवस्थाअनुसार जनताका अधिकार सुनिश्चित गर्नु गठबन्धनको उद्देश्य हो ।’