काठमाडौँ । संसद्को आगामी सत्रदेखि ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको छ । सभामुख देवराज घिमिरेले आज आइतबार प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिका सभापतिसँग सो विषयमा संयुक्तरुपमा छलफल गरेका हुन् ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘संसद्को आगामी अधिवेशनदेखि नै थप प्रभावकारी ढङ्गले बैठक सञ्चालन गर्न क्यालेन्डर निश्चित गर्ने र त्यसका लागि १५ दिनको, ३० दिनको र सिङ्गो सत्रका लागि अलगअलग क्यालेन्डर बनाउनेबारेमा छलफल भएको छ ।’
साथै संसद्को सत्र कहिलेसम्म सञ्चालन गर्ने सम्बन्धमा पनि छलफल भएको र विभिन्न रायसुझाव प्राप्त भएको उनले बताए । सभामुख घिमिरेले आगामी हिउँदे सत्र चाँडै बोलाउने र त्यसका लागि गर्नैपर्ने तयारीका सम्बन्धमा पनि राय, परामर्श प्राप्त भएको बताए ।
बैठकमा उनले समितिमा विधेयकसम्बन्धी अवस्था र बाँकी रहेका विषयका बारेमा जानकारी लिनुका साथै आवश्यकताअनुसार बैठक बोलाएर समझदारीका साथ छिटो सक्न निर्देशन दिएका थिए ।