काठमाडौँ । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरू सम्मिलित टोलीले मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर जनताको समस्या र सरकारले गर्नुपर्ने कामका विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो ।
झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा जनस्तरबाट आएका सुझाव, माग र समस्या समेटेर एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छ । १८ दिने यात्राका क्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका ७५१ वटा माग छन्। जसमा सडक पूर्वाधार, अस्पताल, विद्यालय, मोटरेवल पुल, कृषि, पशुपालन, विद्यालय र उत्पादित कृषि वस्तुको बजार व्यवस्था सम्बन्धी विषय छन्।
प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताए ।
एमालेको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै उक्त अभियानले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणमा महत्त्वपूर्ण सहयोग पुगेको बताए ।
उनले एमालेद्वारा प्रस्तुत ध्यानाकर्षणपत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषयहरू सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।