काठमाडौं । क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको छ । क्यानडा सरकारले एक प्रेस विज्ञप्ती जारी गर्दै २०२४ का लागि ३ लाख ६० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनको लागि क्यानडा अध्ययन अनुमतिहरू अनुमोदन गर्ने लक्ष्य राखेको छ ।सन् २०२३ को तुलनामा यो ३५ प्रतिशतले कमी हो ।
क्यानडामा सन् २०२२ मा ८ लाख अन्तर्राष्ट्रिय विद्यार्थी भित्रिएका थिए । यो संख्या २०२३ को अन्त्यसम्ममा ९ लाख पुगेको तथ्यांक छ । क्यानडाका अध्यागमन मन्त्री मार्क मिलरका अनुसार यो संख्या एक दशक अघिको तुलनामा तीन गुणाले बढी हो ।
मन्त्रिपरिषद्ले गरेको नयाँ निर्णय अनुसार स्नातकोत्तर भन्दा तलका विद्यार्थीका डिपेन्डेन्टले अब ओपन वर्क पर्मिट अनुमति नपाउने भएका छन् ।अब ओपन वर्क पर्मिट उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका जीवनसाथीलाई मात्र दिइने भएको छ । स्नातकोत्तर भन्दा तल अध्ययन गर्नेहरुले यस्तो वर्क पर्मिट पाउने छैनन् ।
स्नातकोत्तर र विद्यावारिधी गर्न चाहने विद्यार्थीका लागि यो सीमा लागु नहुने जनाएको छ ।सन् २०२५ को लागि यो संख्या सन् २०२४ को स्थिति मूल्याङ्कन पछि तय गरिनेछ ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आगमनलाई रोक्न र संस्थागत कमजोरीहरूलाई सम्बोधन गर्ने प्रयासमा, अध्यागमन मन्त्री मार्क मिलरले आगामी दुई वर्षमा दिइने विद्यार्थी भिसाको संख्यामा सीमा तोकेको बताइएको छ ।संघीय सरकारको यो निर्णयले नेपालसहित विभिन्न देशबाट जाने विद्यार्थीलाई ठूलो असर पार्ने देखिएको छ ।