काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले जनताको स्वास्थ्य सेवामा अवरोध पुर्याउने माफियाको उजुरीलाई नीतिगत भ्रष्ट्राचारको कुनै गन्ध नपाए पछि तामेलीमा राखेर खरिद अगाडि बढाउन निर्देशन दिएको छ ।
सतर्कता केन्द्रले स्वास्थ्य सेवा विभागलाई पत्र भनेको छ, स्वास्थ्य व्यवसायी संघ त्रिपुरेश्वर, काठमाडौँले स्वास्थ्य सेवा व्यवस्थापन महाशाखाले स्वास्थ्य सामाग्री खरिद बोलपत्रमा नीतिगत भ्रष्ट्राचार हुनेगरि शर्त राखी प्रकाशित गरेको हुँदा छानविन गरी पाउँ भनी यस केन्द्रलाई सम्बोधन गरि दर्ता गरेको उजुरीका विषयमा राय /प्रतिकृया र पुष्टि हुने कागजातहरू माग गरेर अध्ययन गर्दा प्राप्त प्रमाणहरूबाट अनियमितता भएको हो भन्ने निष्कर्षमा पुग्ने आधार नभएकाले उजुरी तामेलीमा राख्ने निर्णय भएको छ ।
सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको जनस्वास्थ्यको निकै महत्वपूर्ण विषय ओझेलमा पारेर फाइदा लिन मेडिकल माफियाहरू लागेको पाइएको हो । सरकारले ०८०/०८१ को नीति तथा कार्यक्रममा ४ सय स्थानीय तहमा थर्मोकोगुलेटर र १० वटा कल्पोस्कोप खरिद गरी बितरण गर्ने उल्लेख गरिएको थियो । उक्त नीति अनुसार स्वास्थ्य सेवा विभागले बढ्दो पाठेघरको मुखको क्यान्सरलाई न्यूनिकरण गर्न अग्रिम निदान र उपचार गर्नका लागि अत्यावश्यक थर्मोकोगुलेटर र कल्पोस्कोप खरिद प्रक्रिया अगाडि बढाएको हो ।
करिब १४ करोडको लागतमा खरिद गर्न लागेको उक्त मेसिन ल्याउन नदिन मेडिकल माफियाहरू सक्रिय भएर लागेका छन् । केहीले बेनामी उजुरी राष्ट्रिय सतर्कता केन्द्रमा दिएको समेते फेला परेको हो ।
विभागले खरिद गर्न लागेका ४ सय थर्मोकोगुलेटर र १० वटा कल्पोस्कोप मेसिन दुई भन्दा बढी कम्पनीलाई मिल्ने थियो । विभागले स्पेसिफिकेशन अनुसार लागत अनुमान तयार गर्न सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ उपनियम २ (क) बमोजिम अन्य सार्वजनिक निकायहरूले चालु वा अघिल्ला वर्षहरूमा खरिद गरेका, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, ललितपुर महानगरपालिका ललितपुर र गजेन्द्र नारायण सिंह अस्पतालको दर रेट लिइएको थियो । तर, उक्त निकायहरू मध्ये ललितपुर महानगरपालिकाबाट मात्र आ.व. २०७९/ ०८० मा थर्मोकोगुलेटर खरिद भएको मूल्य प्राप्त भएको थियो । त्यसका आधारमा विभागले दर रेट तयार पारेको हो ।
सरकारी तथ्यांक अनुसार सीमित स्रोत र साधनका बावजुत पनि ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरू मध्ये ११ प्रतिशतले मात्रै पाठेघरको मुखको क्यान्सर स्क्रिनिंग गराएका छन् । यसरी स्क्रिनिंग गराएका मध्ये ७ प्रतिशत महिलाहरूको पाठेघरको मुखको क्यान्सरको नतिजा पोजेटिभ देखिएको छ । सरकारी तथ्यांक अनुसार हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट ४ महिलाको मृत्यु हुने गरेको छ ।