काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्रप्रति लक्षित गर्दै राप्रपा नै नबुझेको टिप्पणी गरेका छन्। अध्यक्ष लिङ्देनले एक टेलिभिजनको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।
‘रवीन्द्र मिश्रजीले राप्रपा नै के बुझेको छ भनेको ? उहाँ हिजोअस्ती आउनुभएको। उहाँले राप्रपा के बुझ्नु भएको छ ?,’ एभिन्युज टेलिभिजनको सिधा प्रश्नमा अन्तर्वार्ता दिँदै लिङ्देनले भने, ‘उहाँले राप्रपा बुझ्नै बाँकी छ। भर्खर आउनुभएको छ। एक, डेढ वर्ष हुँदैछ। उहाँले सरकारमा जानु ठिक थियो कि थिएन, प्रदेश सभामा सभामुखमा जानु ठिक थियो कि थिएन, उहाँलाई लागेको कुरा भन्नुभयो।’
प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष मिश्रसहित रहेको निर्देशन समितिले कोशी सभामुखबाट राप्रपा फिर्ता हुनुपर्ने निर्देशन जारी गरेपछि यो विषयमा राप्रपाभित्र मतभेद देखिँदै आएको छ।