काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको उचित प्रयोगमार्फत मुलुकको विकास गर्न सकिने बताएकी छन्।पुलचोक इन्जिनियरिङ क्याम्पसमा आजदेखि सुरु भएको २०औँ राष्ट्रिय प्राविधिक महोत्सवको उद्घाटन गर्दै मन्त्री शर्माले सूचना र प्रविधिको तीव्र गतिमा विकास भइरहेको हुँदा त्यसको प्रयोग मुलुकको विकासमा लगाउनुपर्नेमा जोड दिइन् ।
‘साइबर सुरक्षा नीति २०८० पारित भएको छ, सूचना र प्रविधिको क्षेत्रमा कतिपय कानुन छैनन’, मन्त्री शर्माले भने, ‘सरकारले सूचना र प्रविधिको क्षेत्रमा आवश्यक कानुन बनाउने छ, सूचना प्रविधिको विकासले देशलाई आत्मनिर्भर बनाउनुपर्छ ।’
मन्त्री शर्माले गुणात्मक शिक्षा र प्रविधिसम्बन्धी शिक्षाका लागि सरकारले सदा सहयोग गर्ने जानकारी दिँदै नेपाल सरकार प्राविधिक क्षेत्रमा जनशक्ति उत्पादन गर्ने विषयमा समेतको लागिरहेको स्पष्ट पारे।
इन्जिनियरिङ क्षेत्रमा यो क्याम्पस आफैँमा ‘ब्रान्ड’ भएकाले विश्वमा विज्ञता हासिल गरेपछि देशको विकासमा ध्यान दिन उनको आग्रह थियो ।