काठमाडौं । आचारसंहिता उल्लंघन गरेको भन्दै आईसीसीले नेपालका बलर सुवास भण्डारीलाई कारबाही गरेको छ । पाकिस्तानविरुद्धको खेलमा आईसीसीको आचारसंहिताको उल्लङ्घन गरेको भन्दै भण्डारीलाई आईसीसीले कारबाही गरेको हो ।
भण्डारीले खेलाडी र खेलाडी समर्थन कर्मचारीहरूको लागि आईसीसी आचारसंहिताको धारा २.९ उल्लङ्घन गरेको पाइएको उल्लेख गरिएको छ ।
पाकिस्तानविरुद्ध १४औं ओभरको अन्त्यमा भण्डारीले ब्याटर शाहजाइब खानतर्फ अनुपयुक्त रूपमा बल फ्याँकेपछि उनको काँधमा ठोक्किएको थियो ।
आईसीसीको अनुशासनात्मक रेकर्डमा कारबाहीसँगै भण्डारीको एक डिमेरिट पोइन्ट थपिएको छ । उक्त डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा हुनेछ । २४ महिनाको अवधिमा ४ वा सोभन्दा बढी डिमेरिट अंक पुगेमा त्यो निलम्बन अंकमा परिणत हुनेछ ।दुई निलम्बन अंक एक टेस्ट वा दुई एकदिवसीय वा दुई टि-२० बाट प्रतिबन्ध बराबर हुनेछ ।