हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकाका अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराइएको छ । भीमफेदी गाउँपालिकामा आज शनिबार आयोजित एक कार्यक्रमबिच अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजना शुभारम्भ गरिएको हो ।
अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रमको सभामुख देवराज घिमिरेले उद्घाटन गरे । कार्यक्रममा सभामुख घिमिरेले शारीरिक श्रमको सम्मान आवश्यक भएको बताए । पछाडि परेकालाई सहयोग गर्ने परम्परा आदिमकालदेखि चल्दैआएको भन्दै उनले सामाजिक सुरक्षा कोषमा रहेको रकम उपयोगमा आउनु पर्ने र यसका लागि आफूले भूमिका निर्वाह गर्ने बताए। सभामुख घिमिरेले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्नु रोजगारदातासँगै तीन तहको सरकारको दायित्व भएको बताए ।
भीमफेदी गाउँपालिकाका अनौपचारिक क्षेत्रमा ९८ जना कार्यक्रममा आवद्ध भएका छन् । यसअघि गत असारमा भीमफेदी गाउँपालिका कार्यालय र सामाजिक सुरक्षा कोषबिच भीमफेदी गाउँपालिकाका अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्न सम्झौता भएको थियो ।
सामाजिक सुरक्षा योजना शुभारम्भसँगै अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरु कार्यान्वयन सुरुभएको छ । चालु आर्थिक वर्ष २०८०–८१ म पालिकाभित्रका सयजना अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई यस कार्यक्रममा समाबेश गर्ने योजना रहेको छ ।
अनौपचारिक क्षेत्रमा रहेका श्रमिकको तर्फबाट गाउँपालिकाले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत र सम्बन्धित श्रमिकको ११ प्रतिशत गरी २०.३७ प्रतिशत रकम अर्थात हाल एक हजार ९१२ रुपियाँ मासिक रुपमा कोषमा योगदान गर्नुपर्ने हुन्छ । कोषमा योगदानपछि कोषबाट सञ्चालित विभिन्न योजनामा अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्ति सहभागी हुन पाउने छन् ।