धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमले प्रदेश संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ ।प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव)को अध्यक्षतामा शनिवार बसेको पदाधिकारी बैठकले खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएको विषय सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।
शुक्रवार (माघ १२ गते) भटट्को अनुपस्थितिमा बसेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले उनलाई हटाएर धामीलाई दलको नेता बनाउने निर्णय गरेको थियो । यसैलाई सच्याउन पार्टीको प्रदेश समितिले निर्देशन दिएको हो ।
संसदीय दलका नेता भट्टको जानकारीबिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति ध्यानाकर्षण भएको जनाउँदै सच्याउन निर्देशन दिने निर्णय भएको अध्यक्ष चौधरीले जारी गरेको परिपत्रमा उल्लेख छ ।
‘यहि माघ १२ गते माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक दल नेता खगराज भट्टको जानकारीबिना उपनेता कमरेड अक्कलबहादुर रावलको अध्यक्षता बसी दलनेता परिर्वतन र सरकार परिर्वतन गर्ने भन्ने कुराप्रति पदाधिकारीहरुको गम्भीर ध्यानाकर्षण भएको छ,’ परिपत्रमा भनिएको छ, ‘हाम्रो पार्टी परम्परा, विधिविपरीत केन्द्रीय निर्देशनको समेत अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारीताले संस्थागत मान्यता पाउने खतरा हुने भएकोले संसदीय दलको यो निर्णय पार्टीका हजारौं कार्यकर्ताको मनोभावना विपरीतको भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो ।’