काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावकारी नभएको बताएका छन् ।सरकारले गठन गरेको सुन तस्करी नियन्त्रण तथा जाँचबुझ आयोगले दलका प्रतिनिधिहरुसँग आइतबार गरेको छलफलमा सहभागी एमाले प्रमुख सचेतक गिरीले सत्ता पक्षका नेताहरुमाथि अनुसन्धान सोझ्याउनुपर्ने बताए ।
सरकारले सुन तस्करी प्रकरणको जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको छ । आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी सहकुल थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की र गृह मन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य छन् ।
आयोगलाई विद्युतीय चुरोट (भेप) र ब्रेक शुमा लुकाएर गरिएको सुन तस्करी लगायतका विषयमा अनुसन्धान गर्ने जिम्मेवारी छ । साथै तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र संलग्न व्यक्तिहरुबारे थप अनुसन्धान गर्नुपर्ने देखिएमा अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश दिइएको छ ।
यसअघि सुन तस्करीसँग सम्बन्धित कुनै सूचना वा कागजात कसैसँग भए उपलब्ध गराइदिन सार्वजनिक आह्वान गरेको आयोगले आइतबार दलका नेताहरुसँग छलफल गरेको थियो ।