काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ‘ईसेवा’ ले छिट्टै ‘ऋण’ सापटी योजना ल्याउने भएको छ । हाल विभिन्न बैंक तथा वित्तीय कम्पनीहरूको साझेदारीमा पेमेन्ट ‘भुक्तानी’ को मात्र सेवा प्रवाह गरिरहेको कम्पनीले अब छिट्टै आफ्ना सेवाग्राही प्रयोगकर्ताहरूलाई ऋण सापटी समेत दिने भएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले ‘ईसेवा सापटी योजना’ का लागि कम्पनीले गृहकार्य गरिरहेको बताए ।
यस्तै, कम्पनीले आफ्नो सेवा तथा सुविधालाई थप परिष्कृत र परिमार्जन गर्दै अब ईसेवा मोबाइल एपलाई अंग्रेजीको साथसाथै नेपाली भाषामा समेत उपलब्ध गराउने तयारी गरिरहेको बताएको छ । हाल एकमात्र अंग्रेजी भाषा हुँदा ग्रामीण सेवाग्राहीहरूलाई एप प्रयोगमा समस्या भएको महसुस गर्दै कम्पनीले अब विकल्पमा नेपाली भाषा समेत प्रदान गर्न लागेको हो ।