काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा राखिने होर्डिङ बोर्डजन्य विज्ञापनमा नेपाली कलाकार नै अनिवार्य गर्नुपर्ने बताएका छन् ।
नेपाल विज्ञापन बोर्डले सोमबार राजधानीमा आयोजना गरेको ‘विज्ञापनमा कलाकारको भूमिका’ विषयको अन्तरक्रियामा उनले भारतीय कलाकारहरू आउँदा होर्डिङ बोर्डमा आफ्ना फोटोहरू देखेर नेपाल इन्डियाकै प्रान्त हो भन्न समेत भ्याउने भएकाले त्यस्तो नहोस् भन्न पनि नेपाली कलाकारलाई नै अनिवार्य गर्नुपर्ने बताए ।
कलाकारले विज्ञापनमा काम गर्दा सजग हुनु आवश्यक रहेको भन्दै उनले निषेधित र गलत सूचना जाने विज्ञापन गर्न नमिल्ने बताए । सामाजिक कार्यका विज्ञापन छन् भने निःशुल्क पनि गर्नुपर्ने उनको भनाइ छ ।