काठमाडौँ । एनसेलको शेयर खरिद–बिक्री, अध्ययन तथा छानबिन समितिले एनसेलको शेयर खरिद–बिक्री सम्झौतालाई स्वाभाविक मान्न नसकिने निष्कर्ष निकालेको छ ।
समितिले आजियाटा र स्पेक्ट्रलाइट यूकेबीच भएको खरिद–बिक्रीलाई यथास्थितिमा कार्यान्वयन गर्न नहुने सुझाव सरकारलाई दिएको छ । डेढ महिनाको अध्ययनपछि पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गाल संयोजकत्वको पाँच सदस्यीय समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हिजो प्रतिवेदन बुझाएको छ।
समितिका संयोजक टङ्कमणि शर्माले एनसेल शेयर खरिद बिक्रीमा अध्ययन गर्न बनेको समितिले थप छानबिन गर्नेगरी प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको जानकारी दिए । उनले एनसेलको पटक(पटक शेयर खरिद बिक्री हुँदा राज्यका कतिपय निकायले आफ्नो जिम्मेवारी पालना नगरेको देखिएकाले थप छानबिन गर्न सिफारिस गरिएको बताए । उनले स्रोत नखुलेको सम्पत्ति प्रयोग भएको आशङ्का रहेको भन्दै संलग्नहरुमाथि सम्पत्ति शुद्धीकरणको पाटोमा अनुसन्धान गर्न सिफारिस गरिएको बताए ।
एनसेलले नेपाल सरकारलाई बुझाउनुपर्ने ८५ अर्ब रुपैयाँ बराबरको कर छलि गरेको अध्ययनले देखाएको पनि उनले बताए । उनले आजियाटा ग्रुप बर्हाड र स्पेक्ट्रालाइट यूकेबीच गएको डिसेम्बर १ तारिख अर्थात् मंसिर १५ मा भएको एनसेल आजियाटाको शेयर खरिद बिक्री सम्झौतालाई स्वाभाविक मान्न नसकिने तथा खरिदकर्ता कम्पनीको प्राविधिक क्षमता, लगानीको श्रोत र कम्पनीका सञ्चालकको व्यावसायिक पृष्ठभूमिका विषयमा अदालतका आदेशहरू समेतलाई अध्ययन गरी आवश्यक निर्णय लिन सरकारलाई सुझाव दिएको बताए ।
प्रतिवेदनमा ‘विभिन्न दृष्टिकोणबाट खरिदकर्ताको क्षमता विश्लेषण गर्दा प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय क्षमता पुष्टि हुने कागजात पेस नगरेको देखिँदा यो शेयर खरिद–बिक्री सम्झौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त हुने देखिएन’ भन्ने उल्लेख छ ।
समितिले एनसेल खरिदकर्ता स्पेक्ट्रलाइट यूकेको प्राविधिक क्षमतामाथि नै प्रश्न उठाएको छ । खरिदकर्ता कम्पनीको प्राविधिक क्षमता, लगानीको स्रोत र कम्पनीका सञ्चालकको व्यावसायिक पृष्ठभूमिलाई अध्ययन गर्नुपर्ने समितिको सुझाव छ ।