काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा थप तीन महिनाका लागि प्रा.डा. शिवलाल भुसाललाई नियुक्त गरेको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप तीन महिना विश्वविद्यालयको जिम्मेवारी दिनेगरी उपकुलपतिमा नियुक्त गरेका हुन् ।
१६ कात्तिकमा तत्कालीन उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ कात्तिकमा तत्कालीन शिक्षाध्यक्ष प्रा.डा. भुसाललाई तीन महिनाका लागि उपकुलपतिमा नियुक्त गरेको थियो । थप तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएको निमित्त शिक्षाध्यक्ष प्रा भार्गव धितालले बताए । उनको तीन महिने कार्यकाल सकिन एक दिन मात्रै बाँकी थियो ।
सरकारले नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । नयाँ उपकुलपति नियुक्ति हुन समय लाग्ने देखिएको छ । त्यसका लागि ४३ जनाले आवेदन दिएका छन् । अहिले आवेदनकर्ताहरूको मूल्यांकनको कार्य भइरहेको छ ।