पोखरा । पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन्।आर्मीले अब उपाधिका लागि पाँच पटकको च्याम्पियन थ्रीस्टारको सामना गर्नेछ। उता पाचौँ पटक फाइनलमा पुगेको आर्मीले अहिलेसम्म उपाधि जित्न सकेको छैन।
बिहिबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।रस बहादुर मगरको निर्णायक गोलमा आर्मी फाइनलमा पुगेको हो। निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
अतिरिक्त समयको नवौँ मिनेटमा मगरले गोल गर्दै आर्मीलाई फाइनलमा पुर्याए।त्यसअघि खेलको ६१ औँ मिनेटमा दिनेश हेन्जनको फ्रिकीक गोलमा आर्मीले अग्रता बनाएको थियो। ८५ औँ मिनेटमा समिर तामाङले गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा ल्याए।
यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा जावलाखेललाई १–० गोल अन्तरले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो।प्रतियोगिताको उपाधि भिडन्त शनिबार हुनेछ।प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछ।