काठमाडौं । निर्वाचन आयोग वैशाखमा हुने उपनिर्वाचनको आन्तरिक तयारीमा जुटेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी हप्ता नै यसको टुङ्गो लाग्ने बताए ।
थपलियाले आउँदो हप्ता उपचुनावको प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राख्ने जानकारी दिए । उनले भने, ‘तीनै तहको उपनिर्वाचन एकै पटक हुन्छ । विवरण संकलनको काम भइरहेको छ । कति बजेट र सुरक्षा लाग्छ, मतदाता नामावली अद्यावधिक गर्ने काम पनि हुन्छ । आउँदो हप्ता सबै तयारी गरेर सरकारलाई भेट्छौँ । त्यसपछि कुरा अगाडि बढ्छ ।’
हाल प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुवास नेम्वाङको क्षेत्रमा उपनिर्वाचन हुने छ । यस्तै, सुदूरपश्चिममा असार ६ गते कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो । उनको क्षेत्र बझाङ १ क मा पनि उपनिर्वाचन हुने छ । हालसम्मको नतिजाअनुसार यी सँगै स्थानीय तहका २३ क्षेत्रमा उपनिर्वाचन हुने आयोगको तथ्यांक छ ।