बर्दिबास । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताका समस्या र आवश्यकतालाई राजनीतिक मुद्दा नबनाएसम्म संविधान र लोकतन्त्र सबल हुन नसक्ने बताएका छन् ।नेपाल प्रेस युनियन महोत्तरी शाखाले सीमावर्ती नगरपालिका मनरा सिसवाको भोलहीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महामन्त्री थापाले अब पनि जनताका खेत खलिहान, शिक्षा, सिँचाई, रोजगारी, युवा पलायन जस्ता समुदायका समस्यालाई राजनीतिक विषय नबनाए जनतामा व्याप्त नैराश्य चिर्न र लोकतन्त्रको अनुभूति गराउन नसकिने धारणा राखे । संवाद यात्राका क्रममा जनताबाट उठेका सवालहरूको एकीकृत दस्ताबेज तयार गरी सम्बन्धित निकायमा प्रस्तुत गरिने जानकारी दिए ।
सानो बजेटले ठुलो फाइदा हुने सिँचाई जस्ता पूर्वाधारमा लगानी नगर्दा जनतालाई प्रत्यक्ष लाभ पुग्ने योजनाहरू दुई दशक बढीले अलपत्र रहेको संवाद यात्राका क्रममा जानकारीमा आएको बताउँदै महामन्त्री थापाले यी सिँचाई योजनालाई अबको बजेटमा प्राथमिकतामा राख्न कांग्रेसले पहल गर्ने विश्वास व्यक्त गरे ।