काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले अनुशासन र विधिमा टेकेर पार्टीमा नेतृत्व छान्नुपर्ने बताएका छन् ।
रास्वपा व्यास नगर समितिको आज दमौलीमा आयोजित भेलालाई सम्बोधन गर्दै वाग्लेले पार्टीमा अनुशासन र विधिको शासनलाई कडाइका साथ पालना गर्नुपर्ने बताएका हुन् ।
पार्टीमा गुट बनाउने, नेताको नजिक हुन खोज्ने प्रवृत्ति भएकाले त्यस्ता प्रवृत्तिलाई रास्वपाले प्राथमिकता नदिने वाग्लेको भनाइ थियो । तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य समेत रहेका वाग्लेले भ्रष्टाचार, विकृति र कुशासन भित्र्याउन खोज्ने तत्वविरुद्ध सचेत रहनुपर्ने बताए ।पार्टीमा देशैभर सर्वसाधारण जनताको आकर्षण बढेको बताउँदै उनले आगामी चुनावमा रास्वपाको लहर आउने दाबी गरे ।