काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ। संसद्को हिउँदे अधिवेशन सुरु हुने पूर्वसन्ध्यामा दलले आ–आफ्नो तयारी पनि गरिरहेका छन्।
केही दलले संसदीय दलको बैठक सम्पन्न गरिसके भने केहीको संसदीय दल बैठक चलिरहेको छ। अधिवेशनमा गर्ने काम, दलको तर्फबाट प्रस्तुत गर्ने विषय तथा सांसदले राख्ने विषयको सम्बन्धमा दलले तयारी गरिराखेका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले संसद् अधिवेशनमा सुशासनको मुद्दालाई पहिलो मुद्दा बनाएर प्रस्तुत हुने तयारी गरेको छ। सरकार जनताप्रति जबाफदेही र उत्तरदायी हुन नसकेको कारण देशमा भ्रष्टाचार बढिरहेको भन्दै एमालेले सुशासनको मुद्दालाई प्राथमिकताका साथ उठाउन लागेको हो।
नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सुशासनको मुद्दालाई आफूहरूले पहिलो मुद्दा बनाउने बताए । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले पार्टीले यस अधिवेशनको प्रारम्भमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई प्राथमिकतामा राखेको बताईन् ।
उनले आगामी विधेयक महत्त्वको आधारमा ल्याउने बताईन्। सरकारले कति विधेयक ल्याउन सक्छ, त्यसमा पनि पार्टीभित्र लेखाजोखा हुने उनको भनाइ छ।सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आगामी अधिवेशन व्यवस्थित र विधेयक केन्द्रित बनाउने गरी तयारी गरिरहेको बताए ।