काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनको तयारीबारे दुई जना उपप्रधानमन्त्रीसँग छलफल गरेको छ । प्रमुख निर्वाचन आयुक्तले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधामन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सिंहदरबारस्थित उनिहरूकै कार्यालयमा छलफल गरेका हुन् ।
स्थानीय तह, प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य र जिल्ला समन्वय समितिका गरी २५ पद रिक्त छन् । ती पदमा उपनिर्वाचनमार्फत पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दुवै जना उपप्रधानमन्त्रीसँगको छलफलमा प्रमुख आयुक्तले रिक्त पद र आयोगले उपनिर्वाचनका लागि गरिरहेको आन्तरिक तयारीबारे जानकारी दिएका थिए । राष्ट्रिय सभा सदस्य पदको निर्वाचन माघ ११ गते सम्पन्न भएको थियो ।